काठमाडौँ - अष्ट्रेलियामा सुरु भएको टी-२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको छ।
नामिबियासँगको खेल जित्न १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट भयो। २०१४ को विश्वकप जितेको श्रीलंकाली टिमका ब्याटर नामिबियाका बलर सामु पूरा २० ओभर टिक्न सकेनन्।
श्रीलंकाका लागि कप्तान दाशुन शनाकाले सर्वाधिक २९ रन बनाएका थिए। भानुका राजपाक्षेले २० र धनञ्जय डि सिल्भाले १२ रन बनाए। महेश थिक्सना ११ रनमा नट आउट रहे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नामिबियाका लागि डेबिट वाइज, बर्नाड स्कोल्ट्ज, बेन सिकोन्जो र जन फ्रन्लिङ्कले समान २ विकेट लिए भने जेजे स्मिथले १ विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।
नामिबियाका लागि जन फ्र्यालिङ्कले सर्वाधिक ४४ रन बनाएका थिए। ओपनद्वय माइकल भान लिङगेन ३ र डिभान ला कक ९ रनमा आउट भएपछि दबावमा परेको नामिबियालाई मध्यक्रमका ब्याटरले उकासेका थिए। तेस्रो क्रमका ब्याटर जन निकोलले २०, स्टेफन बार्डले २६, ग्रेडहार्डले २० तथा जेजे स्मिथले ३१ रन बनाएका थिए।
श्रीलंकाका लागि प्रमोद मदुसन लियाना गामेजले सार्वधिक २ विकेट लिए। त्यस्तै, महेश थिक्साना, दुश्मान्ता चमेरा, चमिका करुनारत्ने र वानिन्दु सिल्भाले समान १ विकेट लिएका थिए।