झिलीमिली गाउँलाई केन्द्रीय विद्युत्‌को आश !

बागलुङ - तमान गाउँका बीचैमा रहेको धनगौज्योति माध्यमिक विद्यालयमा रातभरि बत्ती बल्छ। विद्यालयको सुरक्षाका लागि बलेको बत्तीले तमानगाउँको शोभा बढाउँछ। झिलीमिली छ विद्यालय, सहरमा तिहार आएजस्तै। आसपासमा रहेको गाउँले पनि अँध्यारो महसुस गर्न नपरेको धेरै वर्ष भयो।

जिल्लाको तमानखोला गाउँपालिका–३ तमानगाउँमा रहेको सो विद्यालयलाई नत मिटरमा उठ्ने अङ्कले महसुलको बोझ बढाउँला भन्ने छ, नत बेला बेलामा काटिने बत्तीको सास्ती। केन्द्रीय प्रसारण लाइन नपुगेको तमानगाउँ आफ्नै बलबुताले निकालेको विद्युत्को भरमा झिलीमिली छ। गाउँका सरकारी कार्यालयदेखि विद्यालयले पनि सुविधाजनक विद्युत्‌ प्रयोग गरेका छन्।

तमानगाउँ मात्रै होइन, तमानखोलाका छवटै वडामा चाहिने बेला पर्याप्त विद्युत्‌ छ। विसं २०५६ मा तमानखोला लघुजलविद्युत्‌ परियोजना निर्माण थालेपछि त्यसको केही वर्र्षमा नै तमानखोलावासीले बत्ती पाएका हुन्। तमानखोला, खुङ्खानीखोला, बोंगाखोला र स्याउलाखोलाको पानी यहाँका सर्वसाधारणले प्रयाप्त प्रयोग गरेका छन्। एक सय किलोवाटसम्म क्षमता भएका ११ लघुजलविद्युत्‌ आयोजना तमानखोला गाउँपालिकामा सञ्चालनमा छन्। यिनै आयोजनाबाट उत्पादित विद्युत्‌ तमानखोलाका दुई हजार बढी घरमा बल्ने गरेको छ। “ठूलो व्यवसाय गरौँला भएन, बत्ती बाल्न खोलाको बिजुलीले पुगेकै छ”, तमानखोला–२ केटेरीका स्थानीय चूडामणि छन्त्यालले भने, “केन्द्रीय लाइन कुर्नेले भन्दा हामीले पहिले बिजुली बालेको हो।” विद्युत्‌बाट चल्ने फ्रिज, हिटर, स्त्रीलगायतका साधनको प्रयोग गर्न भने नपाएको गुनासो स्थानीयको छ। 

यहाँका स्थानीयले सरकार र विभिन्न दाता संस्थाबाट परियोजनाका लागि आवश्यक उपकरण ल्याएका हुन्। एक महिनादेखि वर्र्ष दिनसम्म पानी लैजाने कुलो बनाउनेदेखि विद्युतीकरणका लागि पोल तार बोक्नेसम्मका काममा श्रमदान सर्वसाधारणले गरेका थिए। “पहिले दुःख धेरै गरेको हो, अहिले सुखले बत्ती बाल्न पाइएको छ”, स्थानीयवासी मनबहादुर बुढाथोकीले भने, “बिजुली नभएर समस्या छैन, झिलीमिली छ हाम्रो गाउँ।”

लघुजलविद्युत्‌ आयोजनाको विद्युत्‌ प्रयोग गरेबापत सर्वसाधारणले सामान्य शुल्क तिर्छन्। केही आयोजनाले दामासाहीले बत्तीको पैसा उठाउँछन् भने केहीले मिटर पनि जोडेका छन्। समुदायले नै बनाएको समितिले उठाएको विद्युत्को महशुल उत्पादनगृहमा काम गर्ने कर्मचारीको पारिश्रमिक भुक्तान गरेर बाँकी रकम समुदायकै विकासमा खर्च गर्छ। आयोजनाको मर्मतका लागि पनि महशुलकै रकमले पुग्छ।

गाउँपालिकाले केन्द्रीय प्रसारण लाइनका लागि पनि प्रयास गरिरहेको छ। पाँच वर्र्षअघि जनप्रतिनिधि आएदेखि प्रयास थाले पनि तमानखोलामा केन्द्रीय विद्युत्‌ विस्तार गर्न नसकिएको अध्यक्ष जोकलाल बुढाले बताए। “विद्युत्‌ त सबै घरमा बलेकै छ, पावरहाउसबाट टाढा पर्ने घरमा मधुरो पनि बल्छ”, बुढाले भन्नुभयो, “हामीले केन्द्रीय लाइन विस्तारका लागि पहल गरेका छौँ, तर विद्युत्‌ प्राधिकरणले काम गर्दैन्।” स–सानै भए पनि उद्योगधन्दा चलाउन, विद्यालयमा कम्प्युटर ल्याब, स्वास्थ्य संस्थामा प्रयोगशाला चलाउनका लागि यहाँका विद्युत्‌गृहले उत्पादन गर्ने विद्युत्ले नपुग्ने उनले बताए।

“हरेक वर्र्ष बजेट आउँछ, योजना पनि छ तर सम्बन्धित निकायले काम नगरि नहुँदो रहेछ”, अध्यक्ष बुढाले भने, “हाम्रा आयोजना दश वर्र्ष पूरा भइसके, धेरैको मर्मत गर्नुपर्ने अवस्था छ, अब विस्तारै साना आयोजना विस्थापित हुन्छन्।”
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×