काठमाडौँ - भारतले जिम्बाब्वेविरुद्धको तीन एकदिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ। कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए।
राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन्। राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन्।
यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला ३-० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए। राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्।
राहुलले सन् २०१६ मा जिम्बाब्वेविरुद्ध आफ्नो खेलजीवनको पहिलो शतक पूरा गरेका थिए। उनले एकदिवसीय क्रिकेटमा अहिलेसम्म ५ पटक शतक प्रहार गरेका छन्।
सिरिजअन्तर्गतको पहिलो खेल १८ अगस्टमा हरारे स्पोर्ट्स क्लबमा हुनेछ।