काठमाडौँ - न्यून स्कोर बनेको ब्रिसबेन टेस्टमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ। जीतसँगै अस्ट्रेलियाले ३ खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ।
जीतका लागि ३४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले सो लक्ष्य ७.५ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो। कागिसो रबाडाले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिँदै अस्ट्रेलियाको निश्चित जीतलाई केही बेर टारेका थिए। यसअघि प्याट कमिन्सको घातक बलिङ सामु दक्षिण अफ्रिका दोस्रो पारीमा मात्र ९९ रनमा अलआउट भएको थियो।
कमिन्सले १२.४ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिएका थिए। स्कट बोल्याण्ड र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए। दक्षिण अफ्रिकाका लागि खाया जोन्डोले नटआउट रहँदै ३६ रन बनाए भने तेम्बा बाभुमाले २९ रन बनाएका थिए।
यसअघि दक्षिण अफ्रिकाले पहिलो पारीमा १५२ रन बनाएको थियो भने अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्दै २१८ रन बनाएको थियो। पहिलो इनिङ्ग्स्मा अस्ट्रेलियाका लागि ९२ रन बनाएका ट्राभिस हेड प्लेयर अफ द म्याच चुनिएका छन्।