काठमाडौँ - स्पानिस ला लिगामा रायो भालेकानोसँग अप्रत्यासित रुपमा पराजित भएपछि बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ। ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानसोसँग १-० ले पराजित भयो।
अल्भारो गार्सियाले खेलको सातौ मिनेटमा गरेको गोल नै राभोको जितमा निर्णायक बन्यो। घरेलु मैदानमा युरोपा लिगको क्वाटरफाइनलमा एनट्राट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि ला लिगामा काडिसँग पराजित भएको थियो।
बार्सिलोनाको हारपछि अब लिग लिडर रियल मड्रिडलाई उपाधि जित्न १ अंक मात्र आवश्यक छ। ३३ खेलबाट रियल ७८ अंकसहित शीर्ष स्थानमा छ। बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रोमा छ।