काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।
अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ। ६९ वर्षीया सीता दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले आफ्नो विज्ञप्तीमा जानकारी दिएको छ।
सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन्। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ। रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्।
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।