‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु

काठमाडौँ। लेखा परीक्षण व्यवसायको प्रवद्र्धन, संवद्र्धन र सुदृढीकरण गर्ने उद्देश्यसहित राजधानीमा ‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजना भएको सो सम्मेलनमा एक हजार २०० बढी लेखा व्यवसायीको सहभागिता रहेको छ। 

दुई दिनसम्म चल्ने सम्मेलनको आज अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे। सम्मेलनअन्तर्गत आज र भोलि विभिन्न क्षेत्रगत विषयमा सामूहिक छलफल हुनेछ। सम्मेलनका क्रममा लेखा परीक्षण व्यवसायमा नियामक निकायको भूमिका, सुशासनमा सूचना प्रविधि, उद्यमशीलता विकासमा लेखा व्यवसायीको भूमिका, लेखा व्यवसायको विकास, राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र अबको बाटो विषयमा सामूहिक छलफल हुने आइक्यानले जनाएको छ। 

कार्यक्रममा अर्थमन्त्री शर्माले लेखापरीक्षणका क्रममा हुने कमजोरीका कारण राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने भन्दै लेखापरीक्षण व्यवसायीले आफ्नो इमान्दारिता, स्वच्छता र जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताए। “लेखापरीक्षण स्वच्छ र मर्यादित हुनुपर्छ, नियमनकारी निकाय आइक्यानले आफ्नो भूमिका निर्वाह गर्न सक्षम हुनुपर्छ”, उनले भने। 

महालेखा परीक्षक टङ्कमणि शर्माले लेखा व्यवसायीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने बताए। उनले राज्यको अपेक्षाअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता लेखापरीक्षण व्यवसायीले जाहेर गर्नुपर्ने बताए। महालेखा नियन्त्रक सुमनराज अर्यालले मुलुकको आर्थिकस्वरुप र अवस्था दर्शाउने स्तम्भ लेखापरीक्षण व्यवसायी भएकाले आफ्नो व्यवसायलाई सुदृढ र २१औँ शताब्दी अनुकूल बनाउनुपर्ने बताए। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घका अध्यक्ष आनन्दराज शर्माले लेखापरीक्षणका क्रममा देखिएका समस्या समाधानमा राज्यको ध्यान जानुपर्ने तथा वित्तीय साक्षरता र करदाता शिक्षा प्रभावकारी बनाउनुपर्ने बताए। अडिटर्स एशोसियशन नेपालका अध्यक्ष महोनराज रेग्मीले लेखापरीक्षण व्यवसायीमाथि भएको विभेदको अन्त्य हुनुपर्ने बताए। 

आइक्यानका अध्यक्ष युद्धराज ओलीले लेखा व्यवसायको सुदृढीकरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए। लेखापरीक्षण व्यवसायमा आएको परिवर्तन, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा व्यवसायीलाई अभिमुखीकरण गराउन आगामी दिनमा पनि सम्मेलनलाई निरन्तरता दिइने बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×