काठमाडौँ - बेनी नगरपालिका–२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापा साहाराविहीन बनेका छन्।
९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै सुखको महसुस गर्न नसक्नुभएका खड्गबहादुरले विरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको उनले बताए। “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” उनले ने, “यही पीडा सहन नसकेर पटकपटक 'म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ' भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ।” बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ। लट्ठीको साहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन तर सहाराको बन्धन (श्रीमती) आफूभन्दा पहिला छुट्लिन् (मृत्युहोला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन्।
सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न)। आफ्नै भाइको गोठमा बुढेसकालका दिनहरु बिताइरहेका थापा दम्पतीका सन्तान छैनन्। विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपाङ्ता भएकी) छन्। बिरामी हुँदा र साह्रो-गाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गर्छन्। ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो। त्यतिबेला त जेनतेन सहेर बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहराइरह्यो, दुखिरह्यो।
३८ वर्षअघिको अवस्था सम्झँदै थापाले भने, “घर पनि थियो, कमाई खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ।” थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउँछन्। सोही रकमले घरको केही खर्च चल्ने गर्दछ। “अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउँथ्यो र,” थापाले भने। सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समयसमयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरुबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ।
उनकी श्रीमती खिरकुमारीले पनि ८० वसन्त पार गरेकी छन्। शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्ने गर्छिन्। “शरीरमा थोरै तागत भएका बेला आफै काम गर्दै आएका छौँ,” खिरकुमारीले भनिन् “बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ। हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ।” खिरकुमारीले गहभरि आँसु खसाल्दै भनिन्, “निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई पनि नपरोस्।”