काठमाडौँ - फिल्म ‘प्रकाश’ को पहिलो प्रिमियर जुम्लामा गरिएको छ। आइतबार साँझ जुम्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। १० भाद्रबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मले आइतबारका पहिलो प्रिमियर गरेको हो।
जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोहीका स्थानीयका लागि पहिलो प्रिमियर गरिएको निर्देशक दिनेश राउतले बताएका छन्। प्रिमियरमा स्थानीयवासी, बुद्धिजीवी, राजनीतिक नेता लगायतको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियरमा अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन्।
प्रिमियरमा फिल्मका लेखक विकास सुवेदी सहितको टिम जुम्ला पुगेका थिए। फिल्म हेर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाउँबासीलाई निम्ता दिइएको छ।
निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रीतिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनतालाई देखाएको बताएका छन्। ‘स्थानीयले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिएका छन्’ निर्देशक राउतले भने- ‘त्यहाँबाट पाएको राम्रो प्रतिक्रियाले हामी निकै उत्साहित छौ।’ फिल्मको ८ गते बुधबार काठमाडौं फेरि प्रेस प्रिमियर हुनेछ।
शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आरआर फिल्मका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।