इलाम – जिल्लाको रोङ गाउँपालिकालाई जलवायु अनुकूलताको नमूना गाउँ बनाउन काम सुरुआत गरिएको छ। विशेष गरी रोङ–६ को पाटापुरलाई नमूना गाउँ बनाउन विदेशी संस्थासँग सम्झौता भई काम थालनी गरिएको हो।
एक वर्षसम्म सञ्चालन हुने सो कार्यक्रमअनुसार स्थानीयवासीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ। सम्झौताको कार्ययोजनाअनुसार जलवायु अनुकूलन गाउँ निमार्ण गर्न कृषक समूह गठन र दर्ता गर्ने तथा क्षमता अभिवृद्धिका लागि विभिन्न प्रविधि हस्तान्तरण गरिने छ।
त्यस्तै कृषिमा यान्त्रिकीकरण र उत्पादनमा वृद्धि, सिँचाइ सुविधा, बजारीकरण, स्थानीयस्तरमा खानेपानी स्रोतको संरक्षण गुणस्तर मापन तथा सचेतना अभिवृद्धि सुधारिएको चुल्हो प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताए। उनका अनुसार एक वर्षका लागि सञ्चालिन हुन लागेको परियोजना कार्यप्रगतिका आधारमा योजना विस्तार र थप गर्न सकिने भएको छ। रोङ–६ मा अवस्थित पाटापुर छिमेकी देश भारत र छिमेकी जिल्ला झापासँग जोडिएको एउटा विकट र पछाडि परेको गाउँका रुपमा लिइएको छ।
जलवायु परिवर्तनका कारण विश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलवायुको अनुकूलताको अवस्थामा स्थानीय नागरिकको आर्थिक र सामाजिक अवस्था सुधार गर्न कार्यक्रम अगाडि बढाएको हो। जसका लागि नामसालिङ सामुदायिक विकास केन्द्र ९एनसिडिसी०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानीय विकास कोषको सहयोगमा कार्यक्रम अगाडि सञ्चालन हुने छ।
चालु आर्थिक वर्षमा वैदेशिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न ५० हजार डलर खर्च गर्ने गरी गाउँपालिका र केन्द्रसगँ सम्झौता भएको हो। यस गाउँलाई नमूनाका रूपमा कार्यक्रम सञ्चालन गरिने छ। कार्यक्रम पूर्णरूपमा सफल भए अन्य गाउँहरूमा समेत सो कार्यक्रम विस्तार हुने जनाइएको छ। कार्यक्रम सञ्चालनपछि जलवायु परिवर्तनलाई न्यूनीकरण हुने गरी विभिन्न कार्यक्रम सञ्चालन हुने छन्। यसले स्थानीयलाई समेत प्रत्यक्ष फाइदा मिल्ने बताइएको छ।