बागलुङ - नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो। बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण नौमती बाजा विस्तारै लोप हुने अवस्थामा छ।
संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड नै बनेको छ। पाँच वर्षअघि बागलुङको चैते दसैँ मेलामा आयोजना गरिएको प्रतियोगितामा अब्बल सावित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका हुन्। माग बढ्दै गएपछि यहाँका युवा आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन्।
सिगाना लामिचौरका २१ वर्षीय लक्ष्मण नेपालीको अहिले मुख्य आम्दानीको स्रोत नौमती बाजा बनेको छ। बाजामा उनले नयाँ तथा पुराना गीत दुरुस्तै मिलाउँछन्। नको पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिँदै घर खर्च चलाउन सानै उमेरबाट बाजा बजाउन थालेको बताउँछन्। नौमतीका सबै बाजा बजाउन जानेका उनले अधिकांश सहनाइ बजाउँछन्।
नेपाली नयाँ तथा पुराना लोक गीतको भाकामा दुरुस्तै सहनाइ बजाउन जान्नुभएका नेपालीलाई धेरैले रुचाउन थालेका छन्। उनले बजाएको सहनाइबाट प्रभावित बनेकाले उनलाई थोरधेरै रकम सहयोग गर्ने गरेको बताउँछन्। “कुनै प्रशिक्षण लिएको हैन, बाबु बाजे, छर छिमकमा बजाएको सुनेर बजाउन सिकेको हुँ, नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउ भन्छन, त्यसैले नयाँ गीत आउँदासाथ सिक्नु पर्छ”, उनले भने, “हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्रमा नौमती बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ त्यसैले यसैबाट घर खर्च चलाउँदै पुर्खाको पेशा धान्दै आएका छौँ।”
नेपाली मात्रै हैन लामिचौर नौमतीबाजा समूहमा अधिकांश युवा नै आबद्ध छन्। लामिचौरमा दुई समूहमा नौमती बाजा बजाउने कलाकार छन्। अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह। नौमती बाजाको संरक्षण गर्दै पुख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ। अहिले समूहको आफ्नै पोसाक छ भने नौमती समूहको जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरासम्म माग भएको समूहका अध्यक्ष बाबुराम परियारले बताए। उनले नौमती बाजा बजाउन आफूहरुले युवालाई प्रेरित गर्दै आएको बताए।
“नौमती बाजा संरक्षण गर्नुछ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनुछ”, उनले भने, “हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महँगो छ, त्यसैले बाजाविहीन भएकै कारण कतिले यो पेशा छोडेका छन्, स्थानीय सरकारले सहयोग गरे अझै सहज हुन्थ्यो।” परियारले बाजा बजाउन पोखरासम्म पुगेको र उक्त समूहले एक दिनको रु २० हजाररदेखि रु ३० हजारसम्म पारिश्रमिक लिने गरेको छ।
नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरुले ३६ प्रकारको सुर तालको बाजा बजाएको इतिहास छ। अहिले यहाँका दलित समुदायले १७ प्रकारको सुर तालको बजा बजाउने गरेका छन्। पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानाकर्षण हुनेगरेको छ। नौमती नौ बाजाको सामूहिक बाजा हो। यो पञ्चेबाजाको ठूलो रूप हो। यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाइ, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाइ र दमाहाका दुई-दुई वटा हुन्छन्।
सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौ वाद्यवादक लोककलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यसलाई नौमती बाजा भनिएको हो।