काठमाडौँ - काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए।
सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए। उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो। प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए।
शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी भएकी थिइन्। समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो।
प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गरे। गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएका थिए। गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो।
महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो। वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन। कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो। कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ। एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ।
तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो। सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।