काठमाडौँ - जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली अस्ट्रेलियाले जित हात पारेको छ। उसले आज सम्पन्न खेलमा ५ विकेटको जित हात पारेको हो।
२०१ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। उसका लागि डेविड वार्नरले ६६ बलमा ७ चौका र १ छक्कासहित ५७ रनको अर्धशतकीय पारी खेलेका थिए।
अविजित रहेका स्टिभ स्मिथले ४८ र ग्लेन म्याक्सवेलले ३२, मार्कस स्टोनिसले १९, कप्तान आरोन फिन्चले १५ तथा एलेक्स केरीले १० रन जोडेका थिए।
जिम्बाब्वेका लागि रायन बर्लले ३ तथा सिकन्दर राजा र रिचर्ड नाग्रावाले १/१ विकेट लिएका थिए। त्यसअघि टोनी आयरल्याण्ड स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो।
उसका लागि विस्ली मधेभरेले ७२ रनको उत्कृष्ट पारी खेलेका थिए। ९१ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे। टाडिवान्से मरुमणिले ४५,कप्तान रेगिस चकाब्वाले ३१ र इनोसेन्ट कियाले १७ रनको योगदान दिएका थिए।
अस्ट्रेलियाका लागि क्यामरोन ग्रीनले ५, एडम जाम्पाले ३ तथा मिचेल मार्श र मिचेल स्टार्कले १/१ विकेट लिएका थिए। यो जितसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अस्ट्रेलिया र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ।