काठमाडौँ - फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाल प्रदर्शनमा रोक लगाइने चर्चाका बीच चलचित्र विकास बोर्डले यसबारे औपचारिक प्रष्टीकरण दिएको छ।
बोर्डले विज्ञप्ति जारी गर्दै कुनै पनि फिल्मको प्रदर्शनमा रोक लगाउने विषयमा कुनै निर्णय नगरेको जनाएको छ। यसबारे मिडियामा आएका विवरणप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चलचित्र क्षेत्रलाई बदनाम गर्ने प्रयत्न भएको ठहर समेत गरेको छ।
यस्तो अफवाहले चलचित्रकर्मीप्रति मनमुटाव ल्याउने र चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत असर पर्नेतर्फ बोर्डले सजग गराएको छ। केही दिनयता प्रदीप खड्का स्टारर फिल्म प्रेमगीत ३ को हिन्दी संस्करणलाई नेपाल प्रदर्शनमा रोक लगाइने बारेका अपुष्ट विवरण सञ्चारमाध्यममा आएका थिए।
यो अफवाहलाई लिएर अभिनेता सरोज खनाल लगायतले टिप्पणी पनि गरेका थिए। खनालले प्रेमगीत ३ को हिन्दी संस्करणको प्रदर्शन रोक्ने निर्णय आफूले सुनेको र त्यो दुःखद् भएको टिप्पणी गरेका थिए।
यसैबीच, प्रेमगीतका निर्माता सन्तोष सेनले हिन्दी संस्करणलाई नेपालमा रिलिज गर्ने तयारी भइरहेको बताएका छन्, तर मिति भने तोकिएको छैन।