काठमाडौँ । पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिइने बताएकी छन्।
आज आइतबार नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै पूर्वमन्त्री मगरले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताउँदै उनीहरूको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाएकी हुन्। उनले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गर्दै भनिन्, ''सङ्घर्षको बलमा पार्टीको जनपक्षीय एजेण्डा स्थापित भएको हुँदा उक्त उपलब्धिको रक्षाका लागि पनि पार्टीले नेतृत्व पाउनुपर्छ।''
उनले अगाडि भनिन्, “माओवादी जनताको आशा भरोसाको केन्द्रका रूपमा रहेको छ, पार्टीलाई बलियो बनाउनेदेखि सिङ्गो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको छ।” देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा (माओवादी केन्द्र) रहेको उनको जिकिर छ।
लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उनले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताइन्।