काठमाडौं - आगामी सेप्टेम्बरमा चीनको होन्झोउ शरहमा आयोजना हुने १९औं एसियन गेम्समा बास्केटबलअन्तर्गत नेपालले महिलाको थ्री बाई थ्री इभेन्टमा सहभागिता जनाउने भएको छ। केही दिनअघि राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले बास्केटबलसहित २३ खेललाई एसियन गेम्समा समावेश गराउने निर्णय गरेको हो।
नेपाल बास्केटबल संघले एसियन गेम्सका लागि थ्री बाई थ्री अन्तर्गत महिला टिमको छनोट प्रतियोगिता गराउने भएको छ। महासचिव नरेन्द्र थापाले खेलाडी छनोट वैशाख १७ र १८ गते हुने बताएका छन्। संघका कार्यवाहक अध्यक्ष भीम सिंह गुरुङले बुधबार सूचना जारी गर्दै दशरथ रंगशालास्थित सेमी इन्डोर कभर्ड हलमा खेलाडी छनोट गरिने जानकारी गराएका छन्।
यसअघि इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा पनि नेपालले महिला थ्री बाई थ्री मा मात्र सहभागिता जनाएको थियो। यस्तै २०१९ मा नेपालमा भएको १३औं सागमा थ्री बाई थ्री तर्फ नेपालको महिला टिमले कास्य पदक जितेको थियो।