काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो।
यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४६८ पुगेको छ। पछिल्लो समय थप ३२५ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ। निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ।
त्यसैगरी पछिल्लो समय एक लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ। हाल होम आइसोलेशनमा छ हजार ७६१, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ।