काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिण छिमेकी भारतको तीन दिने भ्रमणका लागि जाने भएका छन्। उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साता बित्न नपाउँदै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्।
देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा निस्कन लागेका देउवाका लागि यसअघि भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिइएको छ। नेपालले चुच्चे नक्सा ल्याएपछि दुई देशबीच पातलिएको कूटनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याउने देउवासामु चुनौती छ।
त्यस्तै, सीमा विवादको समस्या अझै पनि समाधान भएको छैन। भारतले जम्मु–कश्मीरलाई समेटेर २५ कात्तिक २०७६ सालमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको भूभाग पनि समेटिएपछि दुई देशको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो। त्यसपछि नेपालले ७ जेठ २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको संवादहीनताको अवस्थासम्म पुगेको थियो। नक्सा जारीपछिको तिक्तता अझै पनि बाँकी रहेकाले अब देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गर्न सक्लान्। आजको राजधानी दैनिकमा समाचार छ।