दाङ - बिहीबार राति १ बजेतिर एकाएक धूवाँको गन्ध आयो। १६ वर्षीय मसिन बक्स चारतले घरको चौथो तलामा सुतिरेहका थिए। बाहिर निस्के। घरमा आगो लागिरहेको देखे। उनले हतारहतार आमा र बहिनीलाई अर्को घरको छतमा चढाएर सडकमा ओराले। फर्केर भाइलाई लिन गए तर आफैं फर्केनन्। आगो निभाएर प्रहरी चौथो तलामा पुग्दा उनी १४ वर्षीय भाइ हसन बक्सका साथ कोठाबाहिर मृत भेटिए।
मसिनका बुबा हुसेन बक्स सुर्खेत गएका थिए। हुसेनले घर भाडामा लिएर सञ्चालन गरेको तुलसीपुर–५ तुलसी बोर्डिङ चोकस्थित इरम फुटवेयर पसलमा विद्युत् सट भएर आगलागी भएको थियो। तल्लो तलामा सुरु भएको आगो दोस्रो तलासम्म पुग्यो। दोस्रो तलासम्म जुत्ता–चप्पलको गोदाम थियो। तेस्रो र चौथो तलामा मानिस सुत्ने गरेका थिए। माथिसम्म आगो नपुगे पनि आगोको ताप र धूवाँले गर्दा निसासिएर हताहती भएको प्रहरीले जनाएको छ।
तेस्रो तलामा डेरा गरी बस्ने ४० वर्षीय नजरद्दिन अली आगलागी भएको थाहा पाएपछि हतारहतार श्रीमती र बुबालाई उठाएर अर्को घरको छत हुँदै तल झरेका थिए। फेरि छोराछोरी लिन माथि चढे तर उनले न त छोराछोरीलाई ल्याउन सके, न आफू नै आए। छटपटिँदै बाथरुममा पुगेका बेला उनको त्यहीं ज्यान गयो। बिहान उनको शव बाथरुममा भेटिएको हो। उनका १३ वर्षीया छोरी सुजिता खातुन र ५ वर्षीय छोरा आदिद्दिन अली कोठामै मृत भेटिए।
मृतकहरू कोही कसैको पनि शरीर नजलेको र सबैको ताप र धूवाँका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए। ‘मानिसहरू बसेका माथिल्ला दुई तलासम्म आगो पुगेकै छैन। धूवाँ र तातोका कारण ज्यान गएको छ,’ उनले भने, ‘तल झरेर निस्कने अवस्था थिएन। अर्को घरको छतबाट आउन सकिने सम्भावना थियो। त्यहाँबाट पनि आउन नसकेपछि ज्यान गयो।’
राति आगलागी भएको थाहा पाएपछि तुलसीपुरको दमकल पुगेको थियो। दमकलको पानी सकिएपछि अर्को पटक भर्न समय लाग्यो। उक्त दमकल नफर्कंदै आगलागीले धेरै क्षति गरिसकेको थियो। एक घण्टापछि घोराही उपमहानगरपालिकाको दमकल पुग्यो। तुलसीपुरमा सुरुमा एउटा मात्रै दमकल हुँदा आगो समयमै नियन्त्रणमा लिन कठिन भएको डीएसपी अर्यालले बताए। ‘भित्र थुनिएका मानिसलाई समयमै निकाल्न सकिएन,’ उनले भने, ‘पछि पानी ट्यांकरहरूसमेत बोलाएर आगो निभाइयो। त्यतिन्जेल बिहान भइसकेको थियो।’ आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा रातभर खटेका थिए।
गोदाममा प्लास्टिकका सामान भएका कारण आगो छिट्टै सल्किएको र निभाउन कठिन भएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए। ‘कोठा, भर्याङ सबैतिर सामान भएकाले आगो नियन्त्रणबाहिर गयो, केही मानिस निस्कन पाए। अन्यको ज्यान बचाउन सकिएन,’ उनले भने, ‘दमकल र जनशक्ति समयमै पुग्दा पनि घरमा भित्रभित्रै आगो सल्केका कारण निभाउन समय लाग्यो।’
आगलागीबाट गोदामका सामान नष्ट भएका छन् । व्यवसायीको मृत्यु भएको शोकमा तुलसीपुर उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्सले शुक्रबार तुलसीपुर बजार बन्द गरेका थिए। उद्योग वाणिज्य संघले पीडित परिवारका लागि राहत संकलन सुरु गरेको महासचिव विनिल केसीले बताए। कान्तिपुरबाट