काठमाडाैं । सरकारले दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी गरेको छ । स्मार्ट लाइन्सेन्स नपाउने समस्या विकराल बन्दै गएको बेला यातायात व्यवस्था विभागका अनुसार समस्यालाई ४ देखि ६ महीनाभित्रमै सम्बोधन गर्नेगरी उक्त परिणाममा कार्ड छाप्ने तयारी गरिएको हो ।
अहिले विभागले १४ लाख स्मार्ट कार्ड अन्तरराष्ट्रिय बजारबाट खरीद गरेर ल्याइसकेको छ । बजारमा ७ लाख कार्डको तत्कालै माग भएको र बाँकी ७ लाख कार्ड स्टकमै रहने अवस्था रहेकाले अब समस्या समाधान उन्मुखतर्पm अग्रसर भइरहेको विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले अभियानलाई जानकारी दिए । ‘प्रतिमिनेट चारओटा कार्ड छाप्न सक्ने क्षमताको मेशिन यातायात व्यवस्था विभागसँग छ, बिहान, दिउँसो, साँझ गरी तीनैओटा सिप्ट मिलाएर तत्कालै कार्ड छाप्नेगरी तयारीमा लागिसकेका छौं,’ भुसालले भने ।
अहिले विभागमा उपलव्ध १४ लाख कार्डहरू अन्तरराष्ट्रिय ल्याबमा परीक्षण गरिएर ल्याइएका हुन् । कार्ड छपाइको काम यसै सातादेखि विभागबाटै शुरू हुनेछ ।
केही समयअघि स्मार्ट कार्ड छाप्न सकस परेको र सक्कली या नक्कली छुट्ट्याउन पनि समस्या भएका कारण स्मार्ट लाइसेन्स खारेज गरिने हल्ला बजारमा आए पनि त्यो सत्य नभएको विभागले जनाएको छ । ‘स्मार्ट कार्ड पर्याप्त ल्याइएको छ, कार्डको जाँच गर्न यातायात विभाग, त्यस मातहतका कार्यालय, ट्राफिकहरूसँग पनि कार्ड परीक्षण गर्ने मेशिन उपलव्ध भएकाले खारेज गर्ने भन्ने हुँदै हुँदैन बरु कार्डलाई परिष्कृत गरेर बारकोर्डसहितको वितरण गर्ने की भन्ने सोचिरहेका छौं,’ विभागका निर्देशक भुसालले भने । आर्थिक अभियान दैनिकमा खबर छ ।