काठमाडौँ - डिफेन्डिङ च्याम्पियन फ्रान्सले चोटग्रस्त खेलाडी करिम बेन्जिमाको स्थानमा विश्वकप टिममा अर्को खेलाडी नल्याउने भएको छ। प्रशिक्षक डिडिएर डेसक्याम्पले आइतबार यसबारे घोषणा गरेका छन्। फ्रान्सलाई अर्को ठूलो धक्काका रूपमा चोटका कारण बालोन डि’अर विजेताले खेल्न नसक्ने भएका हुन्।
शनिबार टिम अभ्यासको क्रममा उनलाई तिघ्रामा चोट लागेको हो र उनको अनुपस्थितिले फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने अभियान अझ कमजोर भएको छ। डेसक्याम्पले रियल म्याड्रिड फरवार्डको स्थानमा अर्को खेलाडीका लागि फिफासँग अनुरोध नगर्ने बताएका छन्। प्रशिक्षकसँग नयाँ खेलाडी माग गर्न सोमबारसम्मको समय रहेको छ।
डेसक्याम्पले फ्रान्सको टीएफ-वानलाई दिएको अन्तर्वार्तामा बेन्जिमा घाइते हुनु ठूलो नोक्सानी रहे पनि वर्तमान टिममा आफ्नो पूर्वआत्मविश्वास रहेको बताएका छज्। यस्तै उनले टिम आफैंमा उत्कृष्ट रहेको पनि दाबी गरे। उनले भनेका छन्, ‘हाम्रो जुन टिम उद्देश्य छ, त्यसका लागि अहिलेको टिम पर्याप्त छ। मलाई खेलाडीमाथि पनि उत्तिकै विश्वास छ।’
उनले फ्रान्सेली टिम बेन्जिमालाई ठीक ढंगले व्यवस्थापन गर्न नसकेको आरोपबारे केही बोल्न चाहेनन्। गत महिनादेखि बेन्जिमा चोटबाट संघर्षरत छन्। डेसक्याम्पले भने, ‘तपाईंहरू विवाद सिर्जना गरेको हेर्न चाहनुहुन्छ। तर टिममा सबथोक ठीक छ र नियन्त्रणमा छ। चोट अभ्यासका क्रममा बल्झेको होइन। जोकोहीलाई पनि चोटको समस्या हुन सक्छ।’