निर्माण भएको ५ महिनासम्म पनि सञ्चालन भएन सुक्खा बन्दरगाह

काठमाडाैं । काठमाडौं उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन ।

सुक्खा बन्दरगाह निर्माण ५ महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।

वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टीन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जनाएको छ । मन्त्रालयले तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिमार्फत बन्दरगाह सञ्चालन गर्ने तयारी अघि बढाएको समेत पाइएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले कर्मचारी दरबन्दी सिर्जना, कार्यविधि निर्माण तथा भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भएको हो ।

विश्व बैंकको १ अर्ब ६७ करोड लागतको ऋण सहयोगमा आयोजना निर्माण गरिएको छ ।

आयोजना सम्पन्न भएसँगै काठमाडौं केन्द्रित व्यापारीहरूले आफ्नो सामान सोझै चोभार स्थित काठमाडौं बन्दरगाहमा ल्याएर व्यापार व्यवसाय गर्न पाउने भन्दै खुशी व्यक्त गर्दै आएका छन् तर सञ्चालनमा भने अझै अन्योलता देखिएको छ ।

सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै निर्यातजन्य सामग्री अन्य मुलुकमा पठाउन पनि यहीँबाट काम गर्न सकिने जनाइएको छ । बन्दरगाहमा एउटा मुख्य प्रशासनिक भवनको साथै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टीन लगायतका कार्यालय राखिने छ । समितिका अनुसार आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरू निर्माण भएका छन् ।

बन्दरगाहमा ६०० कन्टेनर अटाउने क्षमता रहेको जनाइएको छ । १ वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो ।

स्थानीयको अवरोध र कोभिडका कारण निर्माणमा झनै ढिलाइ हुन पुगेको थियो ।

निजगढ दु्रतमार्ग, दक्षिणमा भारतसँगको रेलमार्ग, उत्तरमा चीनको केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाह व्यापारिक गतिविधिका लागि सामरिक महत्त्वका साथै निकै सस्तो हुने बताइएको छ । राजधानीमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×