म्याग्दीमा चुनावी सरगर्मी बढ्यो

काठमाडौँ - आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन म्याग्दीका राजनीतिक दलहरु सक्रिय भएका छन्।

जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ४५ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ। जिल्लामा रहेका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन्। राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ। भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो।

आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीहरुले आ–आफ्नो दलभित्र समेत आफ्नो दाबेदारी राख्न थालिसकेका छन् भने स्वतन्त्र रुपमा उम्मेदवारहरुसमेत खुल्न थालेका छन्। सङ्घीयताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधिसहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन्। म्याग्दीमा रहेका ६ स्थानीय तहमध्ये दुईमा एमाले र चारमा कांग्रेसले नेतृत्व गरेका छन्। स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए।

एमाले विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ। कांग्रेसले आफ्नो साख जोगाउँदै पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ भने नेकपा (माओवादी केन्द्र)ले एमाले र कांग्रेसकै हाराहारीमा नतिजा ल्याउने योजनामा अघि बढेको देखिन्छ। जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्लास्थित राजनीतिक दलका पदाधिकारी र नेताहरुसमेत इच्छुक देखिएका छन्।

स्थानीय तह र वडास्तरमा रहेका पार्टीका कमिटीहरुको बैठक राखेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको एमाले म्याग्दीले जिल्ला कमिटीको बैठकबाट थप निर्वाचन लक्षित योजना बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×