समानुपातिक निर्वाचनमा सहभागी हुन दलहरूलाई निर्वाचन आयोगको आव्हान

काठमाडौँ, मंसिर १९ । प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जाँदा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई तोकिएको मितिभित्र निवेदन पेस गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै समानुपातिक प्रणालीअन्तर्गतको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन तालिका अनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म आवेदन पेस गर्न सकिने जनाएको हो।

गत आइतबारदेखि आयोगले कान्तिपथस्थित कार्यालयमा समानुपातिक निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यस प्रक्रियाका लागि सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूले पेस गर्ने निवेदनको सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ। त्यसपछि पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब करिब ९० दिन बाँकी छन्। प्रत्यक्ष निर्वाचनतर्फको मनोनयन माघ ६ गते हुने र सोही दिन उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिने आयोगले जनाएको छ।

माघ ७ गते उजुरी दर्ता, माघ ८ गते नामावली प्रकाशन तथा माघ ९ गते उम्मेदवार फिर्ता लिन सकिने समय तोकिएको छ। सोही दिन अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन चिह्न वितरण गरिनेछ।

आयोगले यही अवधि भित्र राष्ट्रियसभा निर्वाचनका लागि पनि तयारी अघि बढाइरहेको जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×