काठमाडौँ - आठ वर्षअघिको हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठले अर्को फिल्ममा सहकार्य गर्ने भएका छन्।
उनीहरुले नेवारी संस्कृतिमा आधारित फिल्म ‘बब दाइ’ निर्माण गर्ने भएका छन्। फिल्मको प्रमुख भूमिकाका लागि अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरिएको छ। अहिले मदनकृष्णले फिल्मको पटकथा अध्ययन गरिरहेका छन्।
महजोडीका अर्का अभिनेता हरिवंश आचार्यलाई प्रस्ताव गर्ने वा नगर्नेबारे निधो भइनसकेको निर्माता मानन्धरले जानकारी दिएका छन्। हरिवंशका छोरा मोहितवंशले पनि बुवालाई ‘अप्रोच’ नगरिएको जानकारी दिएका छन्।
‘मदनकृष्ण फाइनल हुनुभयो भने हरिवंशलाई पनि प्रस्ताव राख्छौं। अहिले अन्य कलाकारबारे निधो भइसकेको छैन,’ निर्माता मानन्धरले भने। कीर्तिपुरको नेवारी संस्कृतिको कथावस्तु पेस गर्ने ‘बब दाइ’ कमेडी जनरामा बन्ने जनाइएको छ।
सन् २०१४ को फिल्म मोक्षबाट प्रवीण एकाएक चर्चित निर्देशकमा स्थापित भएका थिए। यसको ८ वर्षपछि अब फिल्म ‘बब दाइ’मा दर्शकले उनको निर्देशकीय कला हेर्न पाउने भएका छन्। फिल्मको छायांकन मार्चदेखि सुरु हुनेछ।