काठमाडौँ । राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा समाजवादी प्रेस संगठन नेपालले संगठनका महासचिव नेतृत्वको समिति गठन गरेको छ।
आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागिएको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नका लागि सङ्गठनका महासचिव भुपराज खडकाको संयोजकत्वमा गठित समितिले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत नागरिक अधिकारलाई अक्षुण राखी जनताको सूचना पाउने अधिकारलाई आत्मसात गर्ने गरी विधान निर्माण गरेको हो। जनपक्षीय, व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकास, नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा दृढतापूर्वक कलम चलाइरहेका प्रगतिशील श्रमजीवी पत्रकारलाई सङ्गठित गरी उनीहरूको पेशागत हकहित, श्रम अधिकारको संरक्षण र संवद्र्धन गर्न विधान केन्द्रित छ।
सङ्गठनलाई एक अविच्छिन्न उत्तराधिकारवाला, सङ्गठित, गैर–नाफामूलक तथा गैरसरकारी सामाजिक तथा वैचारिक सङ्गठनका रूपमा व्यवस्था गरेको छ। यस सङ्गठनले आफ्नो उद्देश्यबाहेक आयआर्जन गर्ने छैन। आमसञ्चारका माध्यमसँग आवद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन-पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्योमरा पर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्यदृश्य सम्पादक एवं स्वतन्त्र पत्रकारलाई सङ्गठित गर्ने व्यवस्था छ।
देश तथा विदेशमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी र समाचार तथा समाचारमूलक कार्यक्रम उत्पादन तथा अनलाइन सेवाजस्ता आमसञ्चारमाध्यमलाई समावेश गरिएको विधानमा केन्द्रीय महाधिवेशन, प्रादेशिक, जिल्ला शाखा, विदेश शाखा वा स्थानीय तहका अधिवेशनको व्यवस्था गरिएको छ। वार्षिक साधारणसभा र विशेष साधारणसभाको व्यवस्था गरिएको छ। केन्द्रीय समितिले तीन वर्षमा केन्द्रीय महाधिवेशन गराउनेछ। केन्द्रीय महाधिवेशन सर्वोच्च निकाय हुनेछ। विभिन्न समितिका पदाधिकारीको व्यवस्था गरिएको विधानअन्तर्गत बन्ने नियम, विनियम, केन्द्रीय समितिद्वारा विधानबमोजिम गठित समितिलाई सचिवालय, प्रदेश, जिल्ला, शाखाको व्यवस्था गरिएको छ।
नेपाली आम सञ्चारमाध्यम र स्वतन्त्र रूपले कार्यरत जनपक्षीय, श्रमजीवी र व्यावसायिक पत्रकारलाई सङ्गठित गर्न विधानले मार्गप्रशस्त गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले विचार व्यक्त गरे। श्रमजीवी पत्रकारको हक, अधिकार प्रवद्र्धन तथा संरक्षण गर्न क्रियाशील रहने, जनताका न्यायपूर्ण सङ्घर्षको पक्षमा दृढ्तापूर्वक संलग्न रहने गरी विधानले समावेशी सिद्धान्तका साथै अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गरेको उनले बताएका छन्।