काठमाडौँ - विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ। भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन्। त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन्। बाँकी ५ सय ६० जीप, कार, भ्यान छन्।
त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ। ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अघि बढाउन सकिने कानूनी प्रावधान भए पनि यहाँ त्यस्तो हुँदैन,’ भन्सारका एक अधिकारीले आर्थिक अभियानसँग भने।
अहिले वीरगञ्ज भन्सारमा रोकिएका सवारीसाधनमा टाटा, अशोक लेल्यान्ड, टोयोटा र हुन्डाई ब्रान्डका धेरै रहेको भन्सार कार्यालयले जानकारी दिएको छ।
नेपालका लागि टोयोटाका अधिकृत वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सिनियर सेल्स म्यानेजर महेन्द्र श्रेष्ठ गाडी विक्री नै नभएपछि भन्सारमा थुप्रिएको बताउँछन्। ‘गाडी विक्री नै हुँदैन। ग्राहकले नकिन्ने गाडी उच्च भन्सार तिरेर ल्याएर के गर्नू,’ उनले भने। सर्वसाधारणसँग पैसा नभएकाले गाडी विक्री घटेको उनको अनुमान छ।
व्यवसायीले आर्थिक स्थिति सहज हुँदै गएर विक्री बढ्न थालेपछि मात्रै ती गाडी छुटाउने बताइरहेका छन्। सरकारले गाडीमा उच्च भन्सार महसुल लिन्छ। त्यसैले विक्री नभएर गोदाममा थन्क्याउनुपर्ने गाडीलाई चर्को भन्सार तिरेर ल्याउने ‘मुड’मा व्यवसायी देखिँदैनन्। उनीहरूले उच्च भन्सार तिरेर ल्याउनुभन्दा केही पार्किङ शुल्क तिरेर त्यहीँ राख्ने विकल्प उत्तम ठानेको देखिन्छ।
आर्थिक अभियान दैनिकबाट