खप्तड क्षेत्रमा बाबा रामदेवको योग

बझाङ - पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन्। खप्तडको गंगा दसहरा मेलाको अवसरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनका अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले योग गराउने भएका हुन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सो कार्यक्रममा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्ण विशेष अतिथिका रूपमा सहभागी थिए। मंगलबार बाबा रामदेवले र बाँकी दुई दिन आचार्य बालकृष्णले योग सिकाउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी गराए।

नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको थप विकासका लागि सरकारले बृहत् कार्ययोजना तयार गरेर अगाडि बढ्ने बताए।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुरु भएको प्रथम खप्तड आध्यात्मिक सम्मेल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड सुदूरपश्चिम प्रदेश सरकारको मात्र नभएर नेपालकै अलौकिक भूमि भएको धारणा राखे। उनले खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यका लागि योग गुरु रामदेव बाबा र बालकृष्ण आचार्यको सहयोगको अपेक्षा गरे।

प्रधानमन्त्री प्रचण्डको कुरा सुनिसकेपछि योग गुरु रामदेव बाबाले खप्तडलाई धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए। कार्यक्रममा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुड्क्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिनेछन्।
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×