काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज (मंगलबार) नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दैछ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि सुरु हुनेछ ।
आईसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी–२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालको विश्वकप यात्रा
त्यस्तै नेपालले भने १० बर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
नेपाली टिम
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।