पहिलो पटक युरोपा लिग खेल्ने संघारमा रोनाल्डो

काठमाडौँ - पछिल्लो दुई दशकयता यूईएफए च्याम्पियन्स लिगमा बेग्लै इतिहास रचेका म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्को सिजन प्रतियोगितामै उपस्थित नहुने देखिएको छ। युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्ने भएपछि रोनाल्डोले क्लब परिवर्तन नगरे च्याम्पियन्स लिग गुमाउने पक्का भएको छ।

सन् २००२/०३ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट चर्चामा आएका रोनाल्डोले त्यसयता च्याम्पियन्स लिगको कुनै सिजन गुमाएका छैनन्। उनले प्रतियोगितामा १ सय ८१ खेल खेल्दै १ सय ४० गोल गरेका छन्। प्रतियोगिताको इतिहासमा खेल संख्या र गोल संख्या यो नै सर्वाधिक हो। 

युनाइटेड इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा रहेका कारण च्याम्पियन्स लिगमा छनोट हुन सकेन। त्यसो त अन्तिम दिनको नतिजाले युनाइटेड युरोपको तेस्रो श्रेणी क्लब प्रतियोगिता युरोपा कन्फरेन्स लिगमा पुग्न सक्थ्यो, तर वेस्ट ह्यामले ब्राइटनसँग हार बेहोरेपछि युनाइटेडको केहि आश जोगिएको हो।

सिजनको सुरुवातमा रोनाल्डोलाई पछ्याएको छिमेकी क्लब म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा उपाधि जित्दा युनाइटेड भने क्रिस्टल प्यालेससँग पराजित भयो। युनाइटेडकै पूर्व खेलाडी विल्फ्रिड जाहाको गोलमा प्यालेस १-० ले विजयी भएको थियो। युनाइटेडले समग्रमा यस सिजन ३८ खेलमा १६ जित, १० बराबरी र १२ हारसहित ५८ अंक जोड्यो। क्लबले ५७ गोल गर्दा ५७ नै गोल खायो। रोनाल्डोले लिगमा  १८ गोल गरेका थिए।

युनाइटेडले सिजनको सुरुवात भने उत्कृष्ट गरेको थियो। एक समय त क्लब लिगको शीर्षस्थानमा पनि कायम रहयो। तर एकपछि अर्को खराब प्रदर्शनले लिग र कपमा टोलीले राम्रो प्रदर्शन गर्न सकेन। सिजनको बिचमा प्रशिक्षक ओले गुनार सोल्साएर पनि बर्खास्तमा परे। त्यसपछि राल्फ राग्निकले टोलीको कार्यवाहक प्रशिक्षण सम्हाले।

क्लबले सिजन सकिनुअघि नै अर्को सिजनका लागि आयाक्सका प्रशिक्षक एरिक टेन हागलाई नियुक्त गर्यो। टेन हागले लिगको अन्तिम खेलमा प्यालेसविरुद्ध हार मैदानमा उपस्थित रहेर हेरे। प्रशिक्षक टेन हागले सिजन समाप्त भएको भोलिपल्ट नै म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको भूमिकामा पत्रकारको पनि सामना गरे।

रोनाल्डोले अर्को सिजन युरोपा लिग खेले उक्त प्रतियोगितामा उनको पहिलो सहभागिता हुनेछ। लगातार च्याम्पियन्स लिग खेलेर थुप्रै कीर्तिमान रचेका रोनाल्डोले नयाँ अनुभव लिने देखिन्छ। तर उनलाई अर्को क्लब जाने विकल्प पनि रहन्छ। अहिलेसम्म भने उनले कुनै यकिन निर्णय गरिसकेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×