काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ। निर्वाचनले आगामी चार वर्षको लागि नयाँ नेतृत्त्व चयन गर्नेछ।
निर्वाचन कार्यतालिकाअनुसार बिहान ९ बजे उद्घाटन सत्र रहेको छ। त्यसपछि मतदान प्रक्रिया सुरु हुनेछ।
एन्फाको बागडोर सम्हाल्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलसहित प्रतिस्पर्धामा रहेका छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौड्यालले पनि प्रतिस्पर्धा गर्ने छन्।
शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन्। १३ जना सदस्यका उम्मेदवार छन्। दुई जना महिला सदस्य पदमा पेमा डोल्मा लामा र बिना क्षेष्ठ उम्मेदवार रहेका छन्।
नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशी उम्मेदवार छन्। १३ जना सदस्यका उम्मेदवार छन् भने महिला सदस्यमा विन्द्रा देवान र सरिला श्रेष्ठ रहेका छन्।
यस पटकको एन्फा निर्वाचनमा मतदाताको सङख्या ८४ रहेको छ। एन्फाको जिल्ला कमिटी, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब, एन्फाका चार संघ (महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघ), ए, बी र सी डिभिजन क्लब मतदाता हुन्।
यसअघि ४५ जिल्ला मतदान प्रक्रियामा सामेल भए पनि यसपटक भक्तपुर, सिन्धुली र सिरहाको मताधिकार बदर भएको छ। यस्तै १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मताधिकार प्रयोग गर्न पाउनेछन्।