काठमाडौँ - चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ।
भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको देखिएको हो। चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु. एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट रु. ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो।
चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ। सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै रु. ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ। तथ्याङ्कअनुसार गत आवको सोही अवधिमा रु. आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो। तर, तुलनात्मक रूपमा अघिल्लो वर्षमा भन्दा यस वर्षको निर्यातमा वृद्धि भए पनि यसै वर्षको निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा समेत वृद्धि भएको छ। सोही अवधिमा रु. एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ।
चालु आवको पहिलो सात महिनामा नेपालको रु. १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ। गत आवको सोही अवधिमा नेपालको रु सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो। यस्तैगरी, चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ। यस अवधिमा रु. १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ। तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो।
सोही अवधिमा नेपालमा १४५ देशबाट रु. ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ। तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। सात महिनामा नेपालले भारतबाट रु. छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने रु. एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ।