काठमाडौँ - अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा आधारित फिल्म ‘डलर एयूडी’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले निर्देशन गर्ने फिल्मबारे जानकारी दिइयो।
अस्ट्रेलियामा पैसा कमाउनका लागि विद्यार्थी र गैरआवासीय नेपालीले गर्ने संघर्षलाई चित्रण गर्ने फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्ने भएका छन्। चर्चित फिल्म ‘आमा’मा सह-लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्।
सम्पूर्ण छायांकन अस्ट्रेलियामै गरिने जनाइएको फिल्ममा मेनुका प्रधान, अर्पण थापा र अधिकारीकै मुख्य भूमिका रहने छ। नाटक निर्देशक चे शंकरले फिल्मको पटकथा लेखेका हुन्।
फिल्मलाई लिएर कार्यशाला चाँडै सुरु हुने र असार अन्त्यदेखि छायांकन सुरु हुने निर्देशक श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले यसअघि विषालु, गोधुली, एक दिन एक रात, कर्मा लगायतका फिल्म निर्देशन गरेका छन्।