पाल्पा- मापदण्ड भन्दा बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द भएका छन्। सिद्धार्थ मिनिरल्स प्रालि र डोलोमाइड चुनढुंगा उद्योग प्रालि बन्द भएका हुन्।
वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको हो । जिल्ला वन कार्यालय, पाल्पाका प्रमुख दीपक ज्ञवालीका अनुसार बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली गरेका अन्य दुई सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज प्रालि भने अहिले पनि सञ्चालनमा छन्। खानी विभागले स्वीकृति दिएको भन्दा अत्याधिक चुनढुंगा उत्खनन गरेर राज्यलाई राजस्व नतिरी घाटा गराएको प्रमाणका आधारमा अख्तियारमा मुद्दा दायर भएपनि सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज सञ्चालन भैरहेको पाइएको छ।
आर्थिक वर्ष २०७४/०७५ तथा ०७५/०७६ मा मापदण्ड भन्दा बढी चुनढुंगा उत्खनन गरेका पाल्पाका ४ खानी उद्योगले झण्डै ७४ करोड बढी रावस्व ठगी गरेको प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ।