काटमाडौँ - दीपेन्द्र के खनालको निर्देशनमा ‘आमा २’ बन्ने भएको छ। सोमबार ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा ‘आमा २’ को निर्माण घोषणा गरिएको हो। निर्माता शर्मिला पाण्डेले ‘आमा २’ बन्ने जानकारी दिएकी हुन्।
‘दीपेन्द्रको के घर के डेराको छायांकन सकिएपछि हामी 'आमा २' को तयारीमा जुट्ने छौँ,’ उनले भनिन्। नेपालको पहिलो फिल्म ‘आमा’लाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए। भने, दोस्रो पटक निर्माण भएको फिल्म ‘आमा’लाई रेसराज आचार्यले निर्देशन गरेका थिए।
खनालले बनाएको फिल्म ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गर्नुको साथै राष्ट्रिय अवार्ड समेत हासिल गरेको थियो। फिल्ममा मिथिला शर्माले आमाको मुख्य भुमिका निभाएकी थिइन् भने सुरक्षा पन्तले छोरीको भूमिका निभाएकी थिइन्।
‘द युगदेखि युगसम्म’ मार्फत फिल्म निर्देशनमा प्रवेश गरेका दीपेन्द्रले ‘धर्मा, भिजिलान्ते थ्रीडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
उनकै निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ असार ३ गतेदेखि प्रदर्शन हुँदैछ।