काठमाडौँ - एभरेष्ट एनआरएनए म्याड्रिडलाई टाईब्रेकरमा २-० गोल अन्तरले पराजित गर्दै नेपालोनाले (बी) बुद्व जयन्ती कपको उपाधि जितेको छ। स्पेनको बार्सिलोनामा आयोजित फुटबलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको हो।
तमु समाज बार्सिलोनाले बुद्व जयन्तीको अवसरमा आयोजना गरेको सेभेन एसाईड कप फुटबल प्रतियोगितामा १० टोली सहभागी बनेका थिए। उपाधि विजेता नेपालोनाले (बी) ७०१ युरो नगदसहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता म्याड्रिडले ४०१ युरो जितेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी आभास लामिछाने र उकृष्ट गोलकिपरको उपाधि सागर श्रेष्ठ भोटेले जितेका छन्। यी दुवै खेलाडी उपविजेता बनेको टोलि एभरेष्ट एनआरएनए म्याड्रिडका खेलाडीहरू हुन्। यस्तै रोयल राइडरका प्रशान्त पाण्डेले सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन्।
तमु समाज बार्सिलोनाका अध्यक्ष गौतम गुरुङले प्रतियोगता सफल भएकोमा स्पेनबासी नेपाली समुदायप्रति आभार प्रकट गरेका छन्। ‘पोर्चुगलदेखि प्रतियोगितामा सहभागी हुनु र बार्सिलोना बाहिरका सहरबाट पनि प्रतिनिधित्व हुनुले हामी सबैलाई गर्व लागेको छ’ उनले भने, ‘नेपाली खानादेखि सांस्कृतिक प्रस्तुतिले फुटबल खेल मार्फत नेपाली कला र संस्कृतिको प्रवद्वन गर्न पनि सहयोग मिलेको छ भन्ने विश्वास लिएका छौ।’