काठमाडौँ । पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण गरिएको छ।
४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रुपमा समेत रहने जनाइएको छ। भवन निर्माणका लागि पाँचखाल नगरले रु ५५ लाख उपलब्ध गराएको थियो। भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए। नगरप्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताए। “सङ्ग्राहलय बनाउन थप सहयोग गर्नेछौँ”, उनले भने। नगरले डोने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताए। उनका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ।
यसअघि, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरले डोने भाषामा पाठ्यपुस्तक तयार गरी डेडीथुम्का माध्यमिक विद्यालय र भीमसेन आधारभूत विद्यालयमा अध्यापन सुरु गरिसकेको छ।