एजेन्सी - हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्वान नेतृत्वको गठबन्धन नै विजयी भएको छ। उनी अब पाँचौँ पटक देशको प्रधानमन्त्री बन्ने भएका हुन्।
नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठवन्धन विजयी भएको हो। निर्वाचन कार्यालयले मतपरिणाम आइतबार राती नै सार्वजनिक गरेको थियो।
मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ।
फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो।
विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ।
कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ। यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उनले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो। गठबन्धनले सन् २०१८, २०१४ र २०१० मा झै अत्यधिक मत प्राप्त गरेको हो।
देशभरी मतदान अधिकार पाएकाको सङ्ख्या ७० लाख ८० हजार रहेको छ। निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो।
सन् १९९८ देश शक्तिमा आएका ५८ बर्षिया प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गरेका थिए। त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आएका थिए।