काठमाडौँ - स्थानीय तह निर्वाचनको मिति नजिकिँदै आए पनि महोत्तरीमा राजनीतिक दलको तयारी सुस्त देखिएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तालिका निर्वाचन आयोगले प्रकाशित गरेपनि दलभित्र भने त्यसको तयारी सुस्त देखिएको हो। सार्वजनिक कार्यक्रममा भाषण, पत्रकारसँगको कुराकानी र यस्तै औपचारिक अवसरमा नेताले निर्वाचनमा आफ्नो दल जित्ने दाबी गरे पनि आन्तरिक रुपमा कुनै पनि पार्टीभित्र यसको तयारीको एजेण्डा प्रवेश गरेको छैन। निर्वाचनको माहोल बनाउने, बढाउने मुख्यपक्ष रहने दलभित्र चुनावी एजेण्डा प्रवेश नगर्दा आम जनताबीच चुनावबारे कौतुहलता छाएको छैन। “खै चुनाव हुन्छ रे भन्ने सुन्छौँ, तर कोही नेता भोटका कुरा लिएर घरमा आएका छैनन्”, महोत्तरीका जुनसुकै बस्तीमा पुग्दा आम सर्वसाधारणको समान प्रतिक्रिया सुनिन्छ। आयोगले क्रमशः निर्वाचन तालिकाअनुसारका गतिविधि बढाउँदै लगे पनि जनताबीच पुग्ने दल सुस्त देखिएपछि चुनावी रौनक छाउन नसकेको सामाजिक अभियानमा जोडिएका वुद्धिजीवी बताउँछन्। “चुनावको माहोल बनाउने मुख्यपक्ष नै दल हुन्। अहिलेसम्म चुनावी नारा वा तयारी लिएर दलहरु बस्तीमा पसेका छैनन्। त्यसैले चुनावको रौनक पनि देखिएको छैन्”, भङ्गाहा–३ का बासिन्दा पूर्वप्रशासक ८० वर्षीय तेजनारायण सिंह थारुको ठम्याइ छ।
यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका १५ स्थानीय तहमध्ये अधिकांशका मुख्य पद (नगरपालिकाका प्रमुख-उपप्रमुख र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष) तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले जितेको थियो। सातवटा प्रमुख-अध्यक्ष र नौवटा उपप्रमुख-उपाध्यक्ष जितेको सो दलपछि सङ्घीय समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा (जनता समाजवादी पार्टी) बन्यो। हालसम्म आइपुग्दा जसपामा भएको विभाजनले पूर्वराजपापक्ष अहिले लोकतान्त्रिक समाजवादी पार्टीका नाउँमा छ। लोसपाभित्रैबाट अहिले फेरि विभाजन भएर तराई मधेस लोकतान्त्रिक पार्टी बनेको छ। गत निर्वाचनमा तत्कालीन राजपा नेपाल र सङ्घीय समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका थिए। फलस्वरुप सङ्घीय समाजवादी पार्टीले पनि एउटा गाउँपालिकामा बहुमत सिटमा जित हासिल गरेको थियो। गठबन्धन दलले जिल्लाका आठ स्थानीय तहका प्रमुख-अध्यक्ष र १० उपप्रमुख-उपाध्यक्ष जितेको थियो।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका तत्कालीन राजपा नेपाल र सङ्घीय समाजवादी पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टीका नाउँले तीन दलको अस्तित्वमा देखिएका छन्। अहिले यी तीनै दल आसन्न स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइ रहेका छन्। यद्यपि, दलका आन्तरिक समितिहरूमा निर्वाचन तयारीको एजेण्डाले भने कुनै दलमा औपचारिक रुपमा प्रवेश पाएका छैनन्।