काठमाडाैं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
सभापतिमा निर्वाचित भएपछि बधाई तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले कांग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए ।
प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्यसाथ सुन्नका साथै काँग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र संघर्ष गर्नुपर्ने सल्लाह दिए ।
काठमाडौंमा मंसिर २४ गतेदेखि २७ गतेसम्म आयोजित १४औं महाधिवेशनबाट पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबिर जात्रा, विजय र्याली र नाराबाजी गर्न समेत रोक लगाउन निर्देशन दिएका थिए ।
कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा अबिरदजात्रा, विजय र्याली गर्नेजस्ता गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए । उनको गृहजिल्ला डडेल्धुरामा पनि र्याली निकाल्ने काम नगर्न निर्देशन दिइएको छ ।
सभापति देउवालाई बधाई तथा शुभकामना दिन बिहान सबेरै सर्वसाधारण कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए । नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले भरिभराउ प्रधानमन्त्री कार्यालय परिसर दिउँसो १ बजेपछि खुकुलो बनेको हो ।
‘उत्साह, एकता र रूपान्तरण’ १४औं महाधिवेशनको प्रमुख आकर्षक नारालाई सार्थक तुल्याउन नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री देउवाको नेतृत्व सफल हुनेमा नेता कार्यकर्ताको विश्वास रहेको छ । सुदूरपश्चिम प्रदेश सांसद डा. रणबहादुर रावलले कम्युनिस्टहरू टुक्रिएको बेला कांग्रेसलाई एकढिक्का हुने सुनौलो अवसर भएको बताए ।
कांग्रेस पार्टी ओखलढुंगाका पूर्व सभापति प्रदीप सुनुवारले सभापति देउवाको विजय लोकतन्त्रको रक्षा र सिंगो कांग्रेस पार्टीको एकताका लागि भएकाले अबका दिनमा ‘मभित्र कांग्रेस र कांग्रेसभित्र हामी’ अटाउने गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।
धनगढी उपमहानगरपालिका कैलालीका मेयर नृपबहादुर वडले वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका उम्मेदवारत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उपस्थितिले पार्टीभित्रको गुट–उपगुट अन्त्य भई कांग्रेस एकताबद्ध भएको सन्देश गएको बताए । गोरखापत्रमा खबर छ ।