काठमाडौँ - बर्मिङ्घम कमनवेल्थ गेम्स सन् २०२२ मा सहभागिता जनाउन गएको श्रीलंकन टोलीका १० सदस्य इंल्याण्डमै पलायन भएका छन्।
पलायन भएकामा ९ जना खेलाडी र ! व्यवस्थापक भएको पुस्टि भएको हो। देश बढ्दो आर्थिक संकटका कारण उनीहरू स्वदेश नफर्केर पलायन भएका हुन्।
आफ्ना सदस्य पलायन भएपछि खोजीका लागि स्थानिय पुलिसलाई रिपोर्ट गरिए पनि अहिलेसम्म उनीहरूको बारेमा कुनै सूचना प्राप्त भैसकेको छैन। यतिबेला श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। यस्तोमा खेलाडीहरूले विदेश पलायनको बाटो रोजेका हुनसक्ने अनुमान गरिएको छ।
कमनवेल्थ गेम्समा श्रीलंकाको तर्फबाट ११० जना खेलाडी र ५१ जना पदाधिकारीहरूले सहभागिता जनाएका थिए। श्रीलंकामा बढ्दो आर्थिक संकटमा परेपछि कमनवेल्थ गेम्समा श्रीलंका खेलाडीलाई सहभागिता गराउन खुद कमनवेल्थ गेम्स महासंघ र इंग्ल्याण्डको क्रिकेट बोर्डले विशेष रूपमा आर्थिक सहयोग गरेपछि मात्रै श्रीलंका खेलाडी बर्मिङ्घम पुगेका थिए।
यतिबेला पलायन भएका १० जना खेलाडीको बेलायत पुलिसले खोजी गरिरहेको छ। जसको लागि उनीहरुको पासपोर्ट मागिएको छ। अहिले बेलायती पुलिस उनीहरू सुरक्षित रहे नरहेको बारेमा अनुसन्धान गरिहेको छ।
यसभन्दा अघि पनि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएका केहि श्रीलंकन खेलाडी पनि पलायन भएका थिए।