बगरको कर तिर्दै बगरफाँटवासी

गलेश्वर - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटवासीले विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन्।

बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ। नदी बगेको ठाउँभन्दा पारिपट्टि बेनी–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन। जग्गा नभए पनि जग्गाधनी पुर्जा कामयमै रहेकोले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनुपरेको बेनी–२ का ओमवहादुर थापाले जानकारी दिए। उनका अनुसार स्थानीयवासी हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगायत आठ व्यक्तिले मालपोत कर तिर्दै आएका छन्।

पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी–६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाले बताए। “हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ”, उनले भने, “जग्गाधनी प्रमाण पुर्जामा हाम्रो नाम छ, वर्षेनी मालपोत कर तिर्दै आएका छौँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौँ, हामीमाथि अन्याय भएको छ।”

विसं २०५७ मा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो। यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरूपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका प्रमुख कृष्णबहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकाले जग्गाधनीले कर तिर्दै आएका जानकारी दिए। स्थानीयवासीले सो जग्गालाई सार्वजनिक जग्गामा दर्ता गरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×