काठमाडौं । एकैपटक ठूलो संख्याका कर्मचारीमा कोभिड–१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।
नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । १८ जनालाई कोभिड पुष्टि भइसकेको र १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको उनले बताए ।
त्यसैले सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेको उनले जानकारी दिए । काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।