काठमाडौँ - नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ। फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रहेको हो।
सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए।
सेमिफाइनलमा नेपालले श्रीलंकालाई हराएको थियो। पहिलो चरणमा भने नेपालले बंगलादेशलाई रोकेको थियो। नेपालले ब्वाइजको जुनियर टिम र डबल्समा कांस्य पदक जितेको छ। मालेमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार राउन्ड रोबिनको आधारमा भएको टिम स्पर्धामा नेपाल तेस्रो स्थानमा रहेको हो।
नेपालका लागि संयोग कपाली, प्रिन्स थापा, उज्ज्वल मानन्धर र रुबिन महर्जनले खेलेका थिए। ब्वाइज जुनियर डबल्सको सेमिफाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। त्यसमा नेपालका लागि उज्ज्वल र प्रिन्सले खेलेका थिए।