आफ्नै घरको जग बसाल्दै जैमिनी

काठमाडौँ - जग्गा अभावका कारण पाँच वर्षदेखि थालनी हुन नसकेको बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु भएको छ।

पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीयवासीले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो।तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको काम सुरु भएको इञ्जिनीयर विवेक सापकोटाले बताए। स्थानीय तह गठनपछि भवन निर्माणका लागि योजना बनाएको नगरपालिकाले अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिने बेला भवनको जग बसाल्ने भएको हो।

भवन निर्माणको जिम्मेबारी पाएको रविना, प्राकृतिक जुगल जेभीले तत्कालै काम थाल्ने बताएको छ। रु. आठ करोड १७ लाख ६५ हजार ८२ मा निर्माण हुने भवनका लागि नेपाल सरकार र नगरपालिकाले ५०-५० प्रतिशत साझेदारी गर्नेछन्। विसं २०८१ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी माघ २१ गते ठेक्का सम्झौता भइसकेको सापकोटाले जानकारी दिए।

चार तलाको सुविधा सम्पन्न भवनमा ४२ वटा प्रशासनीक कोठा तयार हुनेछन्। “हामीले यहाँ नयाँ अभ्यास गरेका छौँ, भूइँतलाबाट चारतलासम्म विद्युतीय लिफ्ट हुनेछ”, सापकोटाले भने, “अहिले भवनको परिसरका संरचना बन्ने छैनन् तर सबै संरचना बनिसक्दा नगरको प्रशासनिक भवन नमूना हुनेछ।” जिल्लामा सरकारी भवनमा लिफ्टको सुविधा भएको यो प्रशानिक भवन दोस्रो हुनेछ। यसअघि, धौलागिरीमानै पहिलो पटक धौलागिरि अस्पताल बागलुङमा लिफ्ट जडान भएको थियो। 

जनप्रतिनिधि आएपछि पहिलो वर्षदेखिनै जग्गा प्राप्तिका लागि प्रयास भए पनि अघिल्लो वर्षमात्रै नगरपालिकाले जग्गा प्राप्त गरेको थियो। नेपाल सरकारले जग्गाको प्लटिङमा लगाएको रोकको मारमा परेको नगरपालिकाले रोक्का फुकुवा भएपछि जग्गा आफ्नो नाममा बनाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×