भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक आज शनिवारदेखि १ महिने मध्यपुरथिमि वडाव्यापी लिग फूटबल प्रतियोगिता आयोजना गर्दैछ।
नगरपालिकाले शुक्रवार खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै मध्यपुर युथ एशोसिएशनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फूटबल खेलको ‘हब’का रूपमा नगरपालिकालाई विकास गर्ने नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिएका छन्।
मध्यपुरथिमिका स्थायी वासिन्दाले मात्रै सहभागिता जनाउन पाउने गरी प्रत्येक वडाबाट १/१ टोली सहभागी हुने प्रतियोगिता राउन्ड रोबिन लिगअनुसार खेलाइने छ। प्रतियोगितामा कूल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्ने प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसिएशनका उपाध्यक्ष अष्टकुमार कवेँले बताएका छन्।
कार्यक्रमका सभापति एवं एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफीका साथै २ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार रुपैयाँ पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजार रुपैयाँसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिएका छन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर र स्ट्राइकरले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताउँदै उनले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ दी म्याच’को ट्रफी प्रदान गरिने जानकारी दिएका छन्।
प्रतियोगिताको कूल अनुमानित लागत २५ लाख रुपैयाँ रहेकामा नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरूले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिएका छन्।
उनले सहभागी प्रत्येक टोलीलाई जर्सी र फूटबल उपलब्ध गराएको र खेलाडीहरूको दुर्घटना बीमा गरिएको बताएका छन्।