काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ ।
स्थानीय तहको पदावधि सकिँदै गएकाले आगामी जेठ ५ गतेभन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो ।
आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताए ।
२०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा, जेठको ५ गते राती १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख गरे । सहप्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानूनी विषय भएको भन्दै निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकोले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने बताए ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र पदावधी सम्बन्धी सबै जानकारी सम्पूर्ण राजनीतिक दलहरुलाई औपचारिक रुपमा गराइसकेको बताएको छ ।