काठमाडौँ - इङ्लिस क्लब टोटनह्यामले इभान पेरिसिकलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ। ३३ वर्षीय क्राेएसियाका विंगर मिडफिल्डर इभान पेरिसिच र टाेटेनहमबीच २ वर्षकाे सम्झाैता भएकाे छ।
यो सँगै पेरिसिकले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन्। यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो। सम्झौतासँगै टोटनहमबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।
‘म च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु। यस्तै, प्रिमियर लिग सहित अन्य प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछु’, पेरिसिकले भने।
पेरिसिकले इन्टरमा ६ सिजन खेलेका थिए उनले इन्टर मिलानमा २५४ खेल खेल्दै ५५ गोल गरेका छन्। इन्टरमा पेरिसिकले एक सिरी ए, एक कोपा इटालिया र एक सुपर कोपा इटालियाको उपाधि जितेका थिए।