पोखरा - पोखरा रंगशाला टेनिस कोर्ट कम्प्लेक्समा शनिबारदेखि हुने अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा १२ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल आईटीएफ जुनियर्स (यू-१८) वर्ल्ड र्याङकिङ टेनिस च्याम्पियनसिप ग्रेड-५ सर्किट वान र टु प्रतियोगितामा १३ देखि १८ वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिलातर्फ ६४-६४ गरी १ सय २८ खेलाडी सहभागी हुँदैछन्। प्रतियोगितामा सहभागी हुन् भारत, ताइपेई, दक्षिण कोरिया, रुस, स्पेन, जर्मनी, जापान, श्रीलंका, फिलिपिन्स, अस्ट्रेलिया, हङकङ र अमेरिकाका खेलाडी पोखरा आइसकेका छन्। मंसिर २४ सम्म हुने प्रतियोगिता पुरुष सिंगल्स र डबल्स, महिला डबल्स र सिंगल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले ३२ खेलाडीको ड्र हुने र ३२ भन्दा बढी खेलाडी भएकाले शनिबार र आइतबार क्वालिफाइङ प्रतियोगिता र सोमबारदेखि मुख्य प्रतियोगिता हुने बताएका छन्। उनका अनुसार सिंगल्सतर्फ विजेताले ३०, रनरअपले १८, सेकेन्ड रनरअपले ९, क्वाटरफाइनलिस्ट ५ र पहिलो राउन्ड जित्नेले २ अंक प्राप्त गर्नेछन्। डबल्सतर्फ खेलाडीले सिंगल्समा पाउने अंकको २५ प्रतिशत पाउने छन्।
विजेताले ७, रनरअपले ४.४, सेकेन्ड रनरअपले २.२५, क्वार्टरफाइनलिस्टले १.२५ अंक पाउने छन्। ‘यो अंक वर्ल्ड र्यांकिङमा जोडिने भएकाले खेलाडीका लागि महत्त्वपूर्ण हुन्छ,’ विष्टले भने। प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक नेपाल आइसकेका छन्।