काठमाडौँ - बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी-२० खुल्ला क्रिकेट प्रतियोगिता शुरु भएको छ।
उक्त प्रतियोगिताको उद्घाटन पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले गरेका हुन्। प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए।
पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबलाई भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ। यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई स्तब्ध पार्दै ग्वाल्लेक क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ।
२४ टोलीले सहभागिता रहेको प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताएका छन्। प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगतसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।
उपविजेता टोलीले ५५ हजार ५ सय ५५ नगद र सहित प्रमाण पत्र हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित प्रमाणपत्र प्रदान गरिनेछ।
वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उदयीमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ।
प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो। यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य रहेको छ।